Sunday, December 18, 2011

गुरू बन्दना

पुर्वज गुरू ऋषि अत्रि
सनातन धर्ममा गुरुको यसै पनि अत्यन्तै ठूलो स्थान छ र गुरुलाई गुरुर्बर्ह्मा गुर्रुर्विष्णुः गुर्रुर्देवो महेश्वर भनेर स्वयं ब्रहृमा, विष्णु र महेश्वर को समेत दर्जा दिई देबता तुल्य मानिएको छ । हाम्रा प्राचिन धर्म शास्त्रमा गुरुको महिमा यत्ति छ की जुनसुकै तन्त्र, मन्त्र वा साधनाको अघि र साधना पछाडि पनि गुरुको बन्धना वा स्मरण गर्ने बिधान छ । यत्ति मात्रै नभई कुनै पनि बिधि बिधान, तन्त्र, मन्त्र वा साधना नै नगरे पनि केवल गुरु कृपाले मात्रै पनि ज्ञान प्राप्त हुने समेत चर्चा शास्त्रहरुमा यत्र तत्र पाईन्छन् भने गुरु विना यी कुनै पनि सधाना सफल नहुने पनि बताईन्छ ।

पश्चिमी संसारमा अंग्रेजिमा यौटा भनाई प्रचलित छः- “खराब गुरुले बताउँछन,
साधारण गुरुले पढाउँछन, राम्रा गुरुले सिकाउँछन र महान गुरुले परिबतर्न गराउँछन” । यौ नै पश्चिममा महान गुरुको पहिचान बनेको छ । तर हाम्रो संस्कृतिमा हाम्रा गुरुहरु भौतिक शरिरधारी मानवलाई चेतनाको सर्बोच्च शिखरको अनूभूति दिलाई परमात्मा संग एकाकार गराउने सामर्थ्य राख्नेमा गनिन्छन् त्यसैले पश्चिमी अबधारणाको उक्त "महान" र "परिवर्तन" जस्ता शब्दहरु पूर्विय गुरुको महत्ता दर्शाउन पर्याप्त हुदैंनन् । त्यसैकारण गुरु बन्दनाको अन्तिम पङ्गतिमा गुरु साक्षात परंब्रह्म तस्मै श्री गुरवे नमः भनेर पूर्विय गुरुलाई देवता भन्दा माथि राखेर स्वंय परब्रहृम परमात्मा भएको बताईएको छ । किनकी भौतिक तल देखि चेतनाको शिखरसम्मको यात्रा परिवर्तन मात्रै होईन र यो पूनर्जिवन वा पूनर्जन्म नै हो ।

यौटा भौतिक तल देखि अर्को भौतिक तलसम्मको यात्रालाई परिवर्तन भन्न सकिन्छ तर एक अर्कामा कुनै तारतम्य नै नभएको र कुनै बाटो वा सेतु सम्म नदेखिने भौतिक जगतबाट उठेर चेतनाको शिखर सम्म पुग्ने साधना साँच्चैनै पूनर्जन्म नै हो । यसैले पनि सनातन धर्ममा ज्ञानीले दूइ चोटि जन्मीनु पर्ने आख्यान उपलव्ध छन । साधारण मान्छे आमाको कोखबाट एक चोटि जन्मन्छन भने साधकहरु गुरुको कृपा, र मार्गदर्शनबाट फेरि एकचोटि भौतिक जगतको आवरणबाट चेतनाको जगतमा छलाङ्ग मार्छन । यसैलाई वैदिक दर्शनमा दोस्रो जन्मको संज्ञा दिईएको छ भने यसरि भौतिक जगतबाट चेतनाको असिमित संसारमा प्रवेश गर्नेलाई "द्विज" भनिन्छ ।

यसरि भौतिक जगतबाट आध्यात्मिक जगतमा प्रवेश गराउन सक्षम भएकाले र अर्को जन्म दिन सक्ने सामर्थ्य राख्ने भएकाले वैदिक वाङ्गमयमा गुरुलाई "आचार्यो मृत्युः" अर्थात गुरु मृत्यु हुन समेत भनिएको छ । किनकी भौतिक लगाव वा स्थुल संसारको आवरणबाट निस्केपछि मात्रै चेतनाको जगतमा प्रवेश हुन्छ र सनातन धर्ममा चेतनाको जगतको प्रवेशलाई "द्विज" को जन्म र स्थुल संसारको आवरणबाट मुक्त हुने घटनालाई प्रतिकातमक रुपममा मृत्युको संज्ञा पनि दिईएको छ । यस अबस्थामा पुर्विय समाजमा गुरु प्रति अगाध आस्था र आदर भाव हुनु अत्यन्त सामान्य कुरा हो ।

साधनाको बाटोमा हिंडनुलाई त्यसै पनि हाम्रा प्राचिन शास्त्रमा दुइ तर्फधारवाला तरवारको संज्ञा दिईएको छ । त्यसैले यो बिकट, अन्धकार र अपरिचीत बाटोको यात्रा गर्नेलाई यहि बाटोमा हिडिसकेको र गन्तव्यमा पुगिसकेको मार्ग दर्शकको जरुरत पर्छ, जुन कार्य केवल गुरुले मात्रै गर्न सक्छन । यसरी गुरुले अन्धकारबाट उज्यालोको बाटोमा डोर्‍याउने र अबिद्या नास गरी ज्ञान दिने भएकोले गुरुलाई अबिद्याहृदयग्रन्थिबन्धमोक्षो यतो भवेत । तमेव गुरुरित्याहुर्गुरुशव्देन योगिन: ।। भनेर पनि सम्बोधन पनि गरिन्छ ।

बैदिक मान्यता अनुशार साधनाको कुनै निश्चित र छोटकरि बाटो छैन र यो बास्तबमा यौटा साहशिक फड्को हो, तर यो मित्थ्या संसार र प्रपञ्चको चक्रबाट मुक्त भैसकेका कुनै एकजनालाई नदेखेसम्म साधकमा यो फड्को मार्ने साहश हुदैंन र कसैमा पनि यो अपरिचीत बृतमा फालहाल्ने हिम्मत पैदा हुदैंन । फेरि गुरुको सामान्य उपस्थिति र केवल अस्तित्वले मत्रै पनि साधकमा यो हिम्मत पैदा गर्राईदिन्छ । यसरी गुरुको सामीप्यले असम्भव प्रायः कार्यलाई पनि सम्भव बनाईदिन्छ र साधक भौतिक तलबाट चेतन जगतमा प्रवेश गर्छ । त्यसैले पनि शास्त्रमा गुरुलाई मार्ग निर्देशक मात्रै नभई स्वयं मार्ग र लक्ष समेत भएको बताईएको छ । शाट्यायनीय उपनिषदमा गुरुरेव परौ धर्मो गुरुरेव परा गति: भनी गुरुलाई नै परम भर्म र गुरु नै परम गति भएको कुरा उल्लेख गरिएको छ । यसरी गुरुलाई भेट्नु मात्रै नै साधकको परम उपलव्धि भएको समेत आख्यानहरु शास्त्रमा भेटिन्छन् । यसरी गुरुमा र्समपण भएमा मार्ग र सेतुको जरुरत नहुने र साधकलाई "द्विजत्व" उपलव्ध हुने भएकोले नै गुरुलाई मार्ग र लक्ष समेत भनिएको हो ।

गुरु विना ज्ञान नहुने र गुरु भेटेपछि भने मार्ग र सेतु विना पनि लक्षमा पुगिने भएकोले नै ज्ञानको लागी गुरु नभइ सम्भव छैन । गुरु भेट्ने क्रममा नै आधा मार्ग पुरा हुने भएकोले हाम्रो संस्कृतिमा गुरुको अत्यन्तै ठूलो महत्ता छ, चाहे यो गुरु भौतिक शरिरधारी, प्रतिकात्मक वा अशरिरी नै किन नहोस । तर विना गुरु ज्ञान भने पाईदैंन ।

एबलव्यले गोबरको द्रोणाचार्य बनाएर होस वा दत्तात्रेयले जिवजन्तु र किरा फट्याङ्रा लाई समेत प्रतिकात्मक रुपमा मानेर होस, ज्ञान प्राप्त गर्न सबैले कुनै न कुनै रुपमा गुरुको शरण पर्नु परेको वा र्समर्पण गर्नु परेको तत्थ्यहरु शास्त्रमा प्रशस्तै छन् । समष्टिमा भन्दा गुरुको जरुरत ज्ञान प्राप्तीको लागी अत्यावश्यक छ भने स्थुल शरिर धारी गुरुनै हुनुपर्ने कुरा चाहिँ अनिवार्य शर्त होईन ।

यसरी गुरु स्थूल शरिरधारी, शुक्ष्म शरिर वा अशरिरी भए पनि ज्ञानको लागी आवश्यक भएको ध्रुव सत्य र गुरुको सामीप्य र कृपा दृष्टिले मात्रै पनि ज्ञानको बर्षा सम्भव हुने भएकोले नै सनातन काल देखि आजसम्म पनि हाम्रो समाजमा गुरुको स्थान देवता, पितृ र माता-पिता भन्दा पनि माथि छ । निराकार परमात्मा र दिव्य स्वरुप देबताहरुको भौतिक आँखाले दर्शन असम्भव छ । तर देबताकै जत्ति महिमा र महत्ता भएर पनि भौतिक आँखाले समेत देख्न सकिने भएकाले नै माथिको पंक्तिमा गुरुलाई ब्रहृमा , विष्णु र महेश्वर संग मात्रै तुलना नगरी साक्षात परमात्माको संज्ञा दिईएको छ र गुरु बास्तबमै यस भौतिक संसारको लागी परमात्माका साक्षात स्वरुप हुन ।

दिलिप दाइ बाट

http://dacharya.blogspot.com/2008/07/blog-post_18.html#more

No comments:

Post a Comment